यसकारण प्रचण्डले हार्नैपर्छ -सुभाष घिमिरे


सुभाष घिमिरे

शीर्षक हेर्ने बित्तिकै यो लेखको मुख्य उद्देश्य प्रचण्डको विरोध र विक्रम पाण्डेको समर्थन हो भन्ने लाग्नु स्वाभाविक हो । तर त्यस्तो पटक्कै होइन । यो लेख प्रचण्डको विपक्षमा भन्दापनि सार्वभौम चितवनवासीको पक्षमा हो भनेर बुझ्नुपर्दछ ।

वायुमण्डलमा तुवाँलो व्याप्त छ र शीतले लफ्रक्क भिजेको छ चीसो धरती । रंगीबिरंगी व्यानर, भाषण र नाराले वातावरण भने कफीकपमा उठेको तातो वाफ झैँ वाफिलो भएको छ । यही मंसीर १० र २१ गते दुई चरणमा गरी संपन्न हुन गइरहेको संघीय र प्रदेशसभाको निर्वाचनको सरगर्मीले पूरा मुलुक गर्माएको छ । अनि आसन्न निर्वाचनले ठीक त्यसरी नै तातेको छ -चितवन क्षेत्र नं ३ । यस क्षेत्रमा चुनाव लड्न आइपुगेका छन् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ।

यसभन्दा अघिल्लो आम निर्वाचन अर्थात संविधानसभाको दोश्रो निर्वाचनमा हालको क्षेत्र नं ३ को आधाआधी भूभाग ओगटेको तत्कालीन क्षेत्र नं ४ बाट पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला र उप-निर्वाचनमा नेपाली काँग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरेले फराकिलो मतको अन्तरमा चुनाव जितेका थिए भन्ने कुरा सबैले हेक्का राख्नुपर्ने विषय हो । र साथमा उक्त क्षेत्रको बाँकी आधाआधी भूभाग अर्थात तत्कालीन क्षेत्र नं ५ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए भन्ने यथार्थलाई पनि भुल्न हुदैन ।

हाल सोही क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेपाली राजनीतिका धूर्त खेलाडी प्रचण्ड र चितवनकै रैथाने अनि यस क्षेत्रमा आफ्नो छुट्टै व्यक्तिगत पहिचान बनाउन सफल व्यक्तित्व विक्रम पाण्डे प्रतिष्पर्धामा छन् । निर्वाचनको मुखमा बनेको नेकपा एमाले र माओवादी केन्द्र वीचको नाटकीय गठबन्धन र त्यससँगै विकसित घटनाक्रमका कारण पनि उक्त क्षेत्रको निर्वाचनलाई सर्वाधिक चासोका साथ हेरिएको छ । केही महिना अघि मात्र प्रचण्ड आफ्नी छोरीलाई सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको मेयर जिताउन नेपाली काँग्रेसको बुइ चढेका थिए । प्यारी छोरीको विजयको अविर धुन नपाउदै प्रचण्ड फेरि एमालेको बुइ चढेर आफै चितवनका मतदाता समक्ष आइपुगेका छन् ।

प्रचण्ड देशका पूर्व प्रधानमन्त्री हुन्, त्यस वापत पाउनुपर्ने सम्मानको उनी पक्कै पनि हकदार हुन् । तर प्रधानमन्त्रीको पदसम्म आइपुग्दा र त्यसपछिका राजनैतिक घटनाक्रममा उनले देशमा थिती बसाले कि बेथिती ? यो चाहिँ गम्भीर समीक्षाको विषय भएको छ ।

प्रचण्डले केही समय अघि मात्रै नेकपा एमालेका उम्मेदवारलाई हराउन मतपत्र च्यात्न लगाएर पुन: मतदान गर्न लगाएका कारण उक्त ताजा घटनाप्रति चितवनका आम मतदाता र विशेष गरी एमाले समर्थक मतदाताले गर्न सक्ने प्रतिक्रियाको कारण पनि चितवन क्षेत्र नं ३ को चुनाव थप रोचक बनेको छ । राजनीतिमा इमान र निष्ठा हुन्थ्यो भने देवी ज्ञवालीको भाषा रातारात यसरी बदलिँदैन्थ्यो। जीवन कतिसम्म लाचार हुन सक्छ भन्ने कुराको नमूना बनेका छन् उनी । राजनीतिलाई व्यापार बनाउनेहरुसँग धेरै के पो आशा गर्न सकिन्छ र ? तर जनता त्यस्तो विवशता र लाचारीबाट मुक्त छन् । जनताले आफ्नो ताकत देखाउने बेला पनि यही हो । भरतपुर प्रकरणमा आहत भएका चितवन एमालेका नेता कार्यकर्तालाई समयले तात्तातै दिएको यो एउटा महत्वपूर्ण अवसर पनि हो ।

प्रचण्डलाई हराउनै पर्ने अर्को कारण बाँदरमूढे घटना हो । माओवादीको दश वर्षे हिंसात्मक इतिहासको सर्वाधिक कुरूप उदाहरण मानिने बाँदरमूढे घटना पनि यही क्षेत्रमा भएको थियो । यो घटना टाढा टाढाका नेपालीले त बिर्सन सकेका छैनन् भने त्यहीँका जनताले कसरी बिर्सेका होलान ! तर प्रचण्ड यी सबै बिर्सेर यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । खाटा पनि बस्न नपाएको पीडितको आलो घाउलाई बल्झाउन आइपुगेको ठान्छन् बाँदरमूढे घटना पीडितहरू । जुन घटनाका कारण हेग पुग्नुपर्ने हो त्यही र त्यस्तै घटनाको बलले प्रचण्डले सिंहदरबारको यात्रा सम्पन्न गरे । फेरि उनी बाँदरमूढेका  जनताको मत लिएर शितल निवासको यात्रा तय गर्ने सपना देख्दैछन्।

प्रचण्ड एउटा पात्र नभएर एउटा यस्तो प्रवृति हो जसको पराजय अनिवार्य छ । राजनीतिलाई अपराधीकरण गरेर यति बढी दुर्गन्धित बनाउन र सहिष्णु नेपाली समाजको सद्भाव बिगार्न प्रचण्डले खेलेको भूमिकाको लागि उनले चितवनबाटै सजाय पाउनुपर्छ ताकि कसैले अर्को प्रचण्ड बन्ने धृष्टता नगरोस् । कम्युनिस्ट गठबन्धन मार्फत खडा गर्न लागिएको सर्वसत्तावादी तानाशाही शासनका योजनाकार प्रचण्डको हार नेपालको लोकतान्त्रिक भविष्यका लागि अपरिहार्य छ ।

(लेखक नेपाली काँग्रेसको प्रवासी संस्था नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्यान्ड च्याप्टरका निवर्तमान सभापति तथा चितवन क्षेत्र नं ३ का मतदाता हुन्।)

, , , , , ,