नवराज सिलवाल चुनाव प्रचारमा व्यस्त: कीर्ते कान्डको फाइल मेट्रोमा फर्कियो


१९ कात्तिक २०७४
काठमाडौं : लामो बहसपछि गत भदौ २७ गते प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले पूर्व डिआइजी नवराज सिलवालको रिट खारेज गर्‍यो।

वरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको तर सरकारले प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत पुगेका थिए। उनले आफ्नो र अर्यालको कार्यसम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए। सिलवालले अदालतमा बुझाएको फाइल सरकारी रेकर्डमा भएको भन्दा फरक परेपछि प्रधानमन्त्री, महान्यायाधिवक्तालगायतको बैठकमा छलफल भएको थियो।
फाइल किर्ते गरिएको आशंकामा गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन टोली बनायो। छानबिन टोलीको संयोजनको जिम्मा  डिआइजी विजयकुमार भट्टलाई दिइएको थियो।

प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको सूक्ष्म अध्ययन गरी प्रतिवेदन पठाउँदा कीर्ते गरिएको उल्लेख थियो।

सिलवालको रिट खारेजसँगै प्रहरी प्रधान कार्यालयले सिलवालाई कासमू फाइल किर्ते गरेको अभियोगमा अनुसन्धान गर्ने निर्णय गर्‍यो।

गत असोज १७ गते हेडक्वार्टरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई किर्ते गरेको अभियोगमा अनुसन्धान गरी कारबाही गर्न पत्र लेखेको थियो।

पत्र बुझेलगत्तै रानीपोखरीले महानगरीय प्रहरी परिसर काठमाडौंलाई आवश्यक अनुसन्धान गर्नु भन्दै सो पत्र थमायो।

प्रहरी संगठनमा कारबाहीका लागि पत्र हेडक्वार्टरदेखि परिसरसम्म घुमिरहँदा सिलवाल भने राजिनामा दिएर राजनीति गर्ने योजना बुन्दै थिए। परिसरमा पुगेको पत्र केही साता दराजमा थन्किएर अहिले फेरि रानीपोखरी कार्यालय फर्किएको छ।
केही प्रकृया नभई पत्र रानीपोखरी आएको कार्यालय प्रमुख एआइजी जयबहादुर चन्दले पुष्टि गरे। उनले भने ' कारबाहीको पत्र हामीसँग आइपुगेको केही दिन भएको छ।'

सिलवाललाई कारबाही गर्न परिसरका एसएसपी रविन्द्र धानुकले खुट्टा कमाएको रानीपोखरी स्रोतको दावी छ। एक प्रहरी अधिकृतले भने, 'एसएसपी धानुकले राजनीतिक आड देखेर कारबाही गर्न खुट्टा कमायो।'

पूर्व डिआइजी नवराज सिलवाल यतिखेर मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार बनेर घरदैलो कार्यक्रममा छन्। हेडक्वार्टरबाट कारबाहीको लागि पठाएको पत्र फेरि हेडक्वार्टर नै पठाउने रानीपोखरी कार्यालयका एक प्रहरी अधिकृतले बताए।

उनले भने, 'हामीले मुद्दा चलाउन मिल्दैन। त्यसैले हेडक्वार्टर नै पत्र पठाउछौँ।'

यता महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले पत्रबारे आफूलाई केही जानकारी नभएको दावी गरे। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनोज न्यौपानले पनि पत्रबारे जानकारी नभएको बताएको सविन ढकालले पहिलोपोस्ट पोष्टमा समाचार लेखेका छन् ।

, , , ,