एउटा आतंककारी मर्दा म किन दुखी हुने ? - कृष्ण के.सी


कृष्ण के.सी 

कृष्ण के सी नेपाली अमेरिकन हुन। उनी हलिउड खबर डटकमका संचालक हुन साथै गैरआसासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) र एनआरएनए आईसिसि अमेरिकाज क्षेत्रका पुर्ब मिडिया को-अर्डिनेटर पनि हुन। यो कुराकानी नेपालमा प्रकाश दाहालको निधन हुने बित्तिकै उनले फेसबुकमा राखेको एउटा स्टाटसका बिषयमा केन्द्रित छ। कुराकानीका क्रममा केसीले यो बिषयलाई आफ्नो बिगत र वर्तमान पदिय हैसियत र पत्रकारिताको जीवनसंग जोडेर नहेर्न पटक-पटक आग्रह गरे। के. सीसंग द नेपाल टुडेका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ:


प्रकाश दाहालको निधन हुने बित्तिकै किन यस्तो स्टाटस राखेको ?

- उनको मृत्युको खबरपपछि धेरैले धेरै कुरा राखे। मैले पनि मनमा लागेको, नितान्त मेरो निजी बिचार पोष्ट गरेको हुँ।


किन केहि दिन नकुर्नु भएको ? केहि दिनपछि लेखेको भएपनि हुने नी !

- हरेकलाई भन्ने एउटा समय हुन्छ, प्रचण्डलाई भन्ने समय त्यही थियो। ईतिहास मैले बिर्सेंको छैन। आफ्नै परिवारका मान्छेहरु मारिदा वा आफन्त अनाहकमा मारिदा कती पिडा हुँदो रहेछ भन्ने त उनले पनि बुझे होलान। किनकी उसकोभन्दा ठुलो हामीले भोगेका छौं, मैले भोगेको छु। प्रचण्ड नेतृत्वको हिँसाको शिकार भएको मान्छे हुँ म पनि।


ए ! त्यसोभए रिस पोखेको ?

-रिस पोखेको होइन, मैले आफ्नो मनमा लागेको कुरा ब्यक्त गरेको मात्र हुँ । मैले एउटा रियालिटीलाई ब्यक्त मात्र गरेको हुँ, पचाउने र नापचाउने व्यक्तिमा भर पर्ने कुरा हुन्।

के भएको थियो तपाईलाई ?

त्यो म सम्झन चाहन्न। यत्ति भन्छु उनलाई भन्दा ठुलो पिडा हामीले भोगेका थियौं, त्यो पनि प्रचण्ड कै पागल बहुलठी सोचको कारणले ।


त्यो त एउटा क्रान्तीको कुरा थियो । उनीहरु स्वयं हत्केलामा ज्यान राखेर हिडेको बेला थियो नी ! त्यो कुरा सबैले भुल्नु पर्ने होइन र ?

क्रान्ति सत्तासंग थियो, जनतासँग होइन। १७ हजारभन्दा धेरै नेपालीहरु मारिदा उनीहरुको परिवार कसरी सकुशल भए भन्ने सोच्नु भएको छ ? अर्को कुरा त्यो बेला उनिहरुले जानीजानी र छानी-छानी अनाहकमा मानिसलाई मारेका थिए। पढ़ाउदा पढाउदैको शिक्षक मारेका थिए, हात रुखमा बाँधेर। भात खाँदा खाँदैको बाबुलाई बच्चाहरुको बीचबाट बारीमा लगेर मारेका थिए। यस्ता सयौं-हजारौं हत्या कसरी भुल्न सकिन्छ ? हत्याको अर्को नाम माफी होइन सजाय हो। त्यो भएको छैन। अझै पनि उनीहरु त्यो हत्या-आतंकलाई महान जनयुद्ध भन्दै छन्, आतंकलाई गौरब मान्दैछन्। त्यसर्थ उनीहरु अझै पनि पूर्व-आतंकवादी हुन्।

प्रकाशको निधनमा तपाई खुशी भएको त होईन ?

- होइन, पटक्कै होइन। कुरा के हो भने, एउटा पूर्व-आतंककारी जसलाई सजाय भएको छैन उसको मृत्युमा म दुखि हुनुपर्ने कुनै कारण देख्दिन र कसैको मृत्यूमा म खुसी हुन सक्दिन।


एनआरएनए आईसिसिको क्षेत्रीय मिडिया संयोजक भईसकेको मान्छेले यस्तो स्टाटस राख्न सुहाउदैन भनेर तपाई कै फेसबुकमा व्यापक बिरोध भएको छ नि ?

-यो मेरो फेसबुकवाल हो, पत्रकारिता होइन र एनआरएनएको कुरा पनि होइन । यो मेरो नितान्त व्यक्तिगत कुरा हो।

उनीहरु मूलप्रवाहमा आईसके, कसरी आतंकारी भन्नु भएको ?

-पहिलो त उनीहरुलाई कानुनी रुपमा सजाय हुनुपर्छ त्यो कुरा पनि भएको छैन। अझै त्यो भन्दा पनि ठूलो कुरा त उनीहरुले हिजोका ति हत्या-आतंकको गल्तीहरुको माफी मागेका छैनन्। फेरि, प्रकाशलाई अन्तिम संस्कारका बेलामा पार्टीको शोकबक्तब्यमा माओबादी जनयुद्धका एक होनहार सिपाही भनिएको बक्तब्य पढिएको छ। त्यसैले माओबादीले प्रकाशलाइ मरणोपरान्त पनि आतंकारी नै घोषित गर्यो।

झोलामा टाउको हालेर ल्याउ करोड लैजाउ भनेर भन्नेहरुको बारेमा एउटा कमेन्ट आएको थियो । ती कमेन्टहरुका बारेमा के भन्नुहुन्छ ?

त्यो बेलामा सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि त्यसो गरेको हो मैले होइन। तर मानव अधिकार हनन गरेका धेरै सुरक्षा अधिकारीहरु उही बेला कारबाहीमा परिसकेका हुन। सरकारी सुरक्षाकर्मीलाई कारबाही हुने बिद्रोहीलाई हुन नपर्ने? एउटा कारवाहीको केस त केहि हप्ता अगाडि फैसला भएको छ तर खै त आतंकवादीलाई कारवाही ? उसो भए सुरक्षा निकायका ति व्यक्तिहरुलाई गरिएको सबै कारवाही फिर्ता लिनुपर्यो।


यो स्टाटस मार्फत तपाइले भन्न खोजेको कुरा के हो ? 


प्रचण्डले त यो कुरा सुन्दैनन् र बुझ्दैनन् । अरुले भएपनि सुनुन र बुझुन भन्ने हो । त्यहाँ मैले उनीहरुले मारेका आत्माहरुले प्रचण्डको धैर्यतामा बाधा नपारुन भनेको छु। म खुसी भएको कुरा राखेको या नराम्रो केही भनेको छैन। र अन्त्यमा, धेरै मानिसहरुले सोचेको, भनेको र बोल्न नसकेको कुरा मैले मेरो फेसवालमा निजी बिचार लेखेको हुँ । म प्रतिनिधि पात्र मात्र हुँ ।

, , , , , ,