केपी ओलीले भने -पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाए


१९ कात्तिक २०७४

ताप्लेजुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन्।

वाम गठबन्धनले ताप्लेजुङको सदरमुकाम फुङलिङमा आइतबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रह गरे।

अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताए।

ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे। पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उनले आग्रह गरे।

स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत उनले बताए।

ओलीले भने, “म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु।”

यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने स्पष्ट पारे।

यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो ।
अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उनको भनाइ थियो। पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै ओलीले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गरे। रासस

, , , ,