रवीन्द्र मिश्र : खाएर अघाउन नसकिने चटनी


किशोर नेपाल

सूचनाको डुंगुर थियो कनिकाका अगाडि । चटपटे सूचनाको कुनै अभाव थिएन । संवाददाताहरुले सामाजिक संजालका सबै सूचना कपि–पेष्ट गरेर पठाएछन् कि जस्तो । सुदूर पश्चिम धनगढी, कैलालीतिरबाट आएको एउटा सूचना थियो : एमाले नेतृत्वको वामपन्थी गठबन्धनले पर्यटक उम्मेदवारको नारा लगाएको सुनेर दिक्क भएकी डा. आरजु देउवाले कैलालीमा घरबार जोरेर आफूलाई स्थायी बनाइछन्।

कनिकाले मनमनै भनी, ‘वेल डन । जाडोमा काठमाडौंभन्दा धनगढी नै न्यानो हुन्छ।’

त्यसपछि उसको आँखा फेसबुकमा पर्‍यो । त्यसमा ‘कबीर प्रश्न’ उठाइएको थियोः “रवीन्द्र मिश्र यसपालीको चुनावको चटनी हो । जिब्रो पड्काउन काम लाग्दछ । तर, त्यहीमात्र खाएर अघाउन सकिँदैन ।”

उसले यो समाचारलाई बैजनी रंगले मार्क गरी । यसपालि कनिकालाई उपत्यका बाहिर अल्मलिन मन थिएन। समाचार त उपत्यका बाहिर नै थिए । तर, अस्ति कसैले दिएको पाम्फलेटमा रवीन्द्र मिश्रको तस्वीर देखेपछि कनिकाको मन मस्किएको थियो । पाम्फलेटमा रवीन्द्र मिश्र ‘मासिक पाँच अंकमा पाइने बेलायती पाउण्ड’ को तलबलाई लात मारेर समाजसेवा गर्न स्वदेश फर्केका थिए । यो चुनावमा कान्तिपुर शहरको एक नम्वर क्षेत्रबाट प्रतिनिधि सभाबाट चुनाव लडदैछन् उनी । यो जानकारीले कनिका रमाइ । उसले सोची, यो कलाकारको चुनावी अभियानको मनिटरिङ गर्‍यो भने रमाइलो हुन्छ । कान्तिपुरको एक नम्वरमा वास्तवमा एक नम्वरकै चुनाव भइरहेको थियो ।

कनिकालाई पाम्फलेटमा छापिएको मिश्रको त्यो तस्वीर रियल नभएर भर्चुअल जस्तो लाग्यो । भर्चुअल अर्थात् साँच्चै काँचको। अहिले त कस्ता कस्ता दुर्मुखहरुको अनुहार समेत चकलेटी बनाउने प्रविधि भित्रिइ सकेको छ कान्तिपुरमा। त्यसमा पनि देश भर्चुअलमा परिणत हुन थालेको छ। धरहरा होस् कि रानीपोखरी, वसन्तपुर होस् कि हनुमान ढोका। यो अवस्थामा राजनीतिक मानिसहरुले आफनो असली अनुहार लुकाएर भर्चुअल अनुहारमा हिँडदैनन् भन्न सकिँदैन। आखिर कान्तिपुरका जनताले सदियौंदेखि रियलिटी र भर्चुअलको यही खेल हेर्दै आएका छन‍्।

कनिकाको मनमा आशंका उब्जियो, ‘मिश्र नाम गरेको यो बाहुन चरीलाई खानदानी खलकमा परिणत गर्न के नै बेर लाग्दो होला र?’ त्यही पाम्फलेटमा जानकारी दिइएको थियो, रवीन्द्र मिश्र लोभ नभएका मानिस हुन्। उनी ‘खान पुगोस् दिन पुगोस्’ भन्ने मान्यताको पालना गर्दछन्। जति खान पुगेपनि र जति दिन पुगेपनि उनको यो नारा जारी रहन्छ। उनी चाहन्छन्, यो नाराको आधारमा नै उनी सहजै प्रधानमन्त्री हुनेछन्। नेपालका प्रधानमन्त्रीको खानु र दिनु बाहेक अरु त्यस्तो भन्नैपर्ने र गर्नैपर्ने काम नै के छ र ? दिनु खानु । खानु दिनु।

कनिकाले मिश्रको चुुनाव अभियानलाई आफूले मनिटर गर्न चाहेको बताइ सम्पादक सुदिप्तिलाई। ‘मान्छे चिन्न त खलीछेस् हगि तँ’ सुदिप्तीले नजानिँदो हिसाबले कनिकालाई जिस्क्याइ। कनिकाले सुदिप्तीले आफूलाई जिस्क्याएको थाह त पाइ। तर, खली शव्दको वास्तविक अर्थ उसको जेहेनमा घुसेन।

सुदिप्तीबाट प्रपोजल अप्रूभ भएपछि कनिकाले मिश्र अहिले कहाँ प्रोग्राममा छन् भन्ने पत्तो लगाइ। उनी मध्य बानेश्वरको पिनास धारामा रहेछन्। कनिकाले स्कूटर त्यतै दौडाइ। कार्यक्रमस्थलमा पुगेपछि उसले पहिलोपल्ट मिश्रलाई देखी। उसको ओठबाट शव्द निक्लियो ‘ओहो ।’ ऊ आहत भै सकेकी थिइ। उसै पनि मिश्र मानिस झिल्के नै हुन्। त्यसमा पनि चुनावको यो मौसममा उनी बढी नै झिल्के देखिएका थिए। उनको कार्यक्रमपनि झिल्के नै थियो। सहभागीहरुसँग बढीभन्दा बढी सेल्फी खिच्दै भोट मांग्ने।

कनिकालाई यो थाहा पाउन बेर लागेन, मिश्रले कान्तिपुरका मतदाताको मानसिकता बुझेका थिए। यहाँका सबै मानिस उम्मेदवारहरुको नेग्लिजेन्सले आहत भएका थिए। अहिले यसरी उम्मेदवार आफै हात मिलाउन आएर तस्वीर समेत खिचेर लैंजादा उनीहरुको अहंले तुष्टि पाएको छ। क्षेत्रका आधाभन्दा बढी मानिस कुशासनले क्षुव्ध थिए। यसबाहेकका आधा मानिस कुनै न कुनै हिसावले राजनीतिक दलहरुको स्वार्थको दलदलमा गाडिएका थिए। मतदाताहरु रातमा पनि टिलिक्क टल्किने नरम छाला भएका सुकसुकाउँदा उम्मेदवारबाट पुलपुल्याइन चाहन्थे। मिश्रले पुलपुल्याए। किस्सा खत्तम।

यहाँका मानिसहरु अझैपनि आफूलाई समर्थ ठान्ने मानिसको चरण प्रच्छ्वालनमा विश्वास राख्दथे। मानिसहरु धेरै त भ्रममा नै बाँचेका हुन्छन्। कनिकाले धेरै मानिससँग मिश्रका बारेमा प्रश्न गर्दा पाएको जवाफ थियो : महिनाको दशौंलाख डलर तलब खाएर त्यत्रो बीबीसीमा बोल्ने मान्छे त्यस्तो ठूलो जागीर छाडेर देशको सेवामा त्यत्तिकै आए होलान् त। ल भन्नुस् त नानी तपाईं नै।

के होलान् त मिश्रका अरु व्याकग्राउण्ड? कनिकाले थाहा पाइसकेकी थिई, राजतन्त्र सकिएर गणतन्त्र आएपनि यो देशको कमान यहीका पुराना नयाँ शासकको हातमा छ। यो देशको डेमोक्रेसी इलिट–सेन्ट्रिक छ। पढे लेखेका पाँचसात दर्जन मानिस शहर बजारमा बसेर हल्ला गरेपछि सत्ता हल्लिने अवस्था छ। राजनीतिक पार्टीका अहिलेका नेतासँग मानिस रिसाएका छन्। चाहे वामका हुन् अथवा लोकतन्त्रका हुन् – नेताहरुसँग मानिस उधुम रिसाएका छन्। तर, उनीहरुको छेउमा पुगेर किन रिसाएको ? भनेर सोध्ने हो भने उनीहरुले त्यसको जवाफ दिन जानेका छैनन्।

कनिकाले थाह पाइसकेकी थिइ, यो चुनावमा मिश्रजीले जित्न  गाह्रो छ भने अर्का प्रवल उम्मेदवार प्रकाशमानले हार्नपनि उत्तिकै गाह्रो छ। तर, लोकतान्त्रिक र वाम गठवन्धनको रेस्लिंगमा दुवै उम्मेदवार चिप्लिएर मिश्रलाई औताली पर्न पनि सक्दछ। यो सम्भावनाको साधारण हिसाबमात्रै हो। सामान्य अंकगणित।

तर, मिश्रजीको समस्या छ। उनी विवेकशील पार्टीको उम्मेदवार भएपनि उनले साझाको बर्को ओढेका छन्। यो साझा भन्ने शब्द जतिसुकै सुखद सुनिएपनि यो सुखद लोकतान्त्रिक शब्द होइन। राजा महेन्द्रले संसदीय व्यवस्थाका विरुद्ध प्रयोग गरेको साझा अर्थ व्यवस्था अनेक पटक टाट पल्टिएको छ। यसका अनेक अंगहरुमध्ये एउटा अंग यातायात कनक दीक्षितले हेर्छन्। उम्मेदवार मिश्र किन जोडिएका छन् यो शब्दसँग?

कनिकाको खोज जारी छ।

 पहिलोपोस्टबाट

, , , , ,