पराजित उमेद्वार विजयराज घिमिरेले जारी गरे मन छुने बिज्ञप्ति


पाल्पाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट उमेद्वार बनेका विजयराज घिमिरेले पराजयसंगै आफ्नो लोकतान्त्रिक परिचयलाई उजागर गरेका छन् । चुनाबमा पराजयपछि घिमिरेले जारी गरेको बिज्ञप्ति अहिले पाल्पाली जनताको मन छोएको छ ।

बिज्ञप्तिमा घिमिरेले आफ्नो पराजयलाइ स्वीकार गर्दै बिजयी भएका प्रतिद्वन्दी दलबहादुर रानालाई बधाई र शुभकामना दिएका छन् । सम्पूर्ण मतदाताप्रति आभार ब्यक्त गर्दै घिमिरेले आगामी ५ बर्ष जनतासंगै रहने र बिकासका काममा बिजयी जनप्रतिनिधिलाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । उनले जनबिरोधी र बिकास बिरोधी काम भएमा खबरदारी गर्ने पनि घोषणा गरेका छन् ।

बिजय घिमिरेले जारी गरेको बिज्ञप्ति यस प्रकार छ :


                                                           हार्दिक आभार तथा कृतज्ञता !!!

सर्बप्रथम, प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनको मतपरिणामलाई सहर्ष स्वीकार गर्दै मलाई मतदान गर्नुहुने सबै मतदाताहरुप्रती हार्दिक आभार प्रकट गर्दछु साथै बिजेता मित्र दलबहादुर राना लगायतको टिमलाई हार्दिक बधाई ब्यक्त गर्दछु । निर्वाचन आयोग, सुरक्षाकर्मी,  पर्यबेक्षक र संचारकर्मी सबैको अहोरात्रको खटाईले यो निर्वाचन सफलताका साथ सम्पन्न भएको छ, उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु । बिशेषगरी, यस क्षेत्रका नेपाली कांग्रेसका आदरणीय दिदिबहिनि दाजुभाई तथा युवा साथीहरुको अनवरत खटाईको म मुक्त कण्ठले प्रशंसा गर्दछु । क्षेत्र मै रहेर पनि प्राबिधिक कारणले मतदान गर्न नपाउनु भएका सम्पूर्ण मतदाता अनि देश विदेशमा रहेर मेरो चुनावी अभियानमा सहयोग गर्नुहुने सबै शुभेच्छुकप्रति आभारी छु । 

 चुनाबी प्रतिस्पर्धा लोकतन्त्रको सुन्दरता हो । यो प्रतिस्पर्धाका क्रममा भएका सबै रस्साकस्सी, तिक्तता र मतभेदलाई बिर्सेर आजैदेखि पाल्पा क्षेत्र नम्बर १ को विकासमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्दछु । यस क्षेत्रका बासिन्दाको विकासका हरेक चाहना र सपनालाई बिजयी प्रतिनिधिहरूले बिपनामा परिणत गर्नुहुनेछ भन्ने विश्वास लिदै शुभकामना पनि ब्यक्त गर्दछु । मलाइ प्राप्त जनमतको कदर गर्दै यो क्षेत्रको विकासमा हिजोका दिनमा जस्तै खटेर लाग्ने प्रण समेत गर्दछु । यही क्षेत्रको विकास गर्ने उद्देश्यले चुनावी प्रतिस्पर्धामा उत्रिएको एक उमेदवारका नाताले बिजयी साथीहरुको हरेक सकारात्मक र रचनात्मक कार्यमा मैले पूर्ण र सक्रिय सहयोग गर्नेछु भने लोकतन्त्र बिरोधि र जना चाहना बिपरित हुने हरेक गलत कामको डटेर बिरोध गर्नेछु । यो क्षेत्रको विकास निर्माणका काममा आगामी पांच बर्ष यही क्षेत्रका जनताको माझमा रहेर जनतासंगै हिड्ने प्रतिबद्दता फेरी दोहोर्याउछु ।

संबिधान सभा मार्फत संबिधान जारी गरेर समुन्नत नेपालको परिकल्पना गर्नुहुने महामानव बिपी कोइरालाको सपना साकार बनाउनका खातिर ज्यान हत्केलामा राखेर हिडेको एक सिपाहीका नाताले यो पराजयलाई मैले जनताले दिएको माया कै रुपमा लिएको छु । पाल्पाली जनसमुदायको मतादेशको उच्च सम्मान गर्दै अझ जिम्मेवार भएर राजनीतिमा लाग्नका लागी कर्तब्यबोध भएको स्मरण गराउदछु । कांग्रेसको नेतृत्वमा भएको शान्ती र कांग्रेस कै नेतृत्वमा बनेको संबिधानको जगमा सबै तहको निर्वाचन सम्पन्न गराउन सफल हुनुभएकोमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई हार्दिक बधाई पनि ब्यक्त गर्दछु । 

अन्त्यमा, सम्पूर्ण मतदातामा हार्दिक आभार ब्यक्त गर्दछु । मेरो पक्षमा खटेर हिड्ने सबैप्रति कृतज्ञ छु । बिजयी साथीहरुलाई बधाई र सफल कार्यकालको शुभकामना छ । जय नेपाल !

बिजयराज घिमिरे 
उमेद्वार 
क्षेत्र नम्बर १, पाल्पा  
  

, , ,