यी महिला उमेदवार जसले प्रत्यक्षमा चुनाव जिते


रमेश लम्साल

 २०७४ मङ्सिर २५ सोमबार
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् ।

नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित भएका छन् । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित भएका हुन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए ।

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा माओवादी केन्द्रका प्रवक्ता हुन् । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य छन् । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता हुन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली कांग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा एमालेबाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो ।

यसरी कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी डिना उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट आरजु राणा छन् । उनीहरु सबै पराजित भए ।
यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो । खरेल विजयी भएकी छन् ।

वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित भइन् । विजयी नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरे भने मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गरिन् ।
सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छिन् ।
यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी अर्याल पराजित भइन् ।

तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा कांग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका थिए । यसअघि समानुपातिकबाट सांसद रहेका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिउका थिए । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि छन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिएका थिए । त्यसमध्ये रोकाले मात्रै विजयी भइन् ।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए ।

संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

ललितपुर–३ बाट विजयी माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी भुसालले आफूलाई ललितपुरका जनताले विश्वास गरेको र वामगठन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको बताइन् । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण विजयी भएको उनको भनाइ छ ।
उनले कांग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गरिन् । भुसालले २४ हजार ३६ मत प्राप्त गरिन् भने अमात्यले २२ हजार ३२९ मत प्राप्त गरे ।
मकवानपुर–२ बाट कांग्रेसको उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना भने पराजित भइन् । उनी एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । खतिवडाले ४४ हजार ७४४ मत प्राप्त गरेर विजय प्राप्त गर्दा उपाध्यायले ३२ हजार ५५८ मत प्राप्त गरिन् ।
कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भइन् । मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

निर्वाचन प्रचारप्रसारको समयमा पति प्रकाश दाहालको असामयिक निधन भएपछि शोकमा परेकी मगरले आफूलाई कञ्चनपुरका जनताले जिताएर न्याय गरेको प्रतिक्रिया दिइन् ।
पूर्वी रुकुमबाट निर्वाचित रोकाले पनि जनताले दिएको अवसरलाई बढी भन्दा बढी सदुपयोग गरेर अगाडि बढ्ने बताइन् । उता प्यूठानबाट विजयी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत ल्याए । नवनिर्वाचित सांसद पौडेलले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण मतदाता, वामगठबन्धन तथा प्यूठानका सम्पूर्ण जनताको हितमा सधै प्रतिवद्ध भएर काम गर्ने बताइन् ।
 (रासस)

, , ,