प्रधानमन्त्री देउवा बास बसेको होटेलनजिकै टाइम बम


 कैलाली, १८ मंसिर

प्रधानमन्त्री शेरबहादुर देउवा बास बसेको धनगढी–५ मा फेला परेको टाइम बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय पारेको छ ।

प्रम देउवा बास बसेको स्थानबाट करिब दुई सय मिटर टाढा बाटोको छेउमा बम फेला परेको हो । प्रधानमन्त्री देउवा सोही बाटो भएर सोमबार बोराडाँडीमा रहेको नेपाली सेनाको हेलिकोप्टरमार्फत डडेल्धुरा जाने कार्यक्रम थियो ।

बम भेटिएको स्थान प्रधानमन्त्री शेरबहादुर देउवा बास बसेको होटेल डिभोटीनजिकै पर्छ । धनगढी उपमहानगरपालिका–५ तारानगरमा पुलनजिकै बम फेला परेको हो ।

बालुवामा बोरामा राखिएको प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । तेघरीस्थित सेनाको टेलीले बम निष्क्रिय पारेको छ ।

तीन दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमै बसिरहेका छन् । प्रधानमन्त्री देउवा दिनभरि चुनावी सभालाई सम्बोधन गरी बास बस्न धनगढी आउने गर्छन् ।

, , , ,