एमालेसँग किन रिसाए प्रचण्ड


 २०७४ पौष ८ शनिबार

परासी । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले, एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरको कुरा खोलेका छन् ।

उनले सरकार बनाउने त्यो प्रयास विफल भइसकेको समेत बताएका छन् । नवलपुरको कावासोतीमा आयोजित कार्यकर्ता भेटघाटमा उनले भने, ‘जनताले सरकारको चावी माओवादीलाई दिएको छ । त्यसैलाई मध्यनजर गरेर एमाले अहिले पार्टी एकताको पक्षमा उभिएको छ ।’

उनले माओवादी अहिले पनि निर्णायक केन्द्रमा रहेको बताए । एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै उनले अगाडि भनेका छन्, ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०–२१ सिटमा समेटिएपछि एमालेका केही साथीहरुलाई के लाग्याे भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो । यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नु पनि भयो । तर, परिणाम त्यसरी अाएन ।’

उनले समानुपातिकमा एमाले र कांग्रेसको झण्डै समान मत आएपछि एमाले एक्लैको बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको बताए ।

उनले उपेन्द्र यादवसँगको प्रयास विफल भएपछि एमाले नेताहरुले कुरा बुझेको र अहिले आफुहरुबीचमा सकारात्मक कुरा भइरहेकाे बताए । उनले भनेका छन्,  ‘अहिले उहाँहरु पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’ दाहालले आफूहरु पार्टी एकताबारे कुनै दुविधामा नरहेको सुनाएका छन् ।

, , ,