पार्टी एकता हुँदैन भन्ने कसैले सोचेको भए कल्पनामात्रै हुनेछ : प्रचण्ड


 २०७४ पौष ९ आइतबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले र माओवादीबीचको एकतामा कुनै समस्या नरहेको बताएका छन् ।

आइतबार भरतपुरमा भएको कार्यक्रममा उनले एमाले  र माओवादी केन्द्रबीचको एकतामा कुनै समस्या नरहेको स्पष्ट पार्दै कसैले हुँदैन भन्ने सोचेको भए त्यो कल्पना मात्रै हुने बताए ।

“एमाले र माओवादी केन्द्रबीच एकता हुँदैन कि भनेर कसैले सोचेको छ भने त्यो कल्पना मात्र हुनेछ । हिजो नै म भैरहवाबाट काठमाडौं पुगेर पार्टी एकता समितिको बैठक बस्ने तयारी गरिएको थियो । मौसम खराबीको कारण जान सकिएन । मंगलबार काठमाडौं फर्किएपछि एकता संयोजन समितिको बैठक बस्छ । एकता प्रक्रिया अघि बढ्छ । पार्टी एकतामा एमाले र माओवादी केन्द्रबीच कुनै समस्या छैन ।”

उनले राष्ट्रिय सभाको विवाद केही दिनमा अन्त्य हुने जिकीर समेत गरे । संविधानमा राष्ट्रिय सभाबारे ठोस कुरा उल्लेख नहुँदा विवाद देखिएको उनको भनाई थियो ।

“सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेको थियो । त्यहिअनुसार ड्राफ्ट बन्यो । तर पछि कांग्रेसका नेताहरुकै कारण बहुमतीय प्रस्ताव गरियो । एकल संक्रमणीयमा जाँदा समावेशीताको समस्या आउन सक्छ । त्यसैले बहुमतीयमै जानुपर्छ । तर, राष्ट्रियसभामा प्रतिपक्ष पनि चाहिन्छ । त्यसमा एमाले अध्यक्ष केपी ओली र मेरो गम्भीर रुपमा नै कुराकानी भएको छ । राष्ट्रियसभा गठनसम्बन्धि विवाद पनि केही दिनमा अन्त्य हुन्छ ।’’

, , ,