खेल शुरु भइसकेपछि नियम परिवर्तन गर्न पाइँदैन -ओली


काठमाडौं, २ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल शुरु भइसकेपछि नियम परिवर्तन गरेजस्तै गरी वर्तमान सरकारले राष्ट्रिय सभा गठनको बखेडा झिकेको आरोप लगाएका छन् ।

चुनाव सकिएर परिणाम सार्वजनिक भइसकेको अवस्थामा सरकारले राष्ट्रिय सभा गठनको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेर खेल शुरु भइसकेपछिको अवस्थामा नियम परितर्वन गर्न खोजेको ओलीको भनाइ थियो ।

आइतवार राजधानीमा आयोजित वाम गठवन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘खेल शुरु भइसकेको छ । बलरले बल हान्न थालिसकेको छ । किपर तयार भइसकेको छ । अर्को पक्षले आएर बीचमा नियम परिवर्तन गर्न खोज्दै छ ।

संसद कायम रहेकै बेला सरकारलाई राष्ट्रिय सभा गठनको अध्यादेश ल्याउन भनेर ध्यानाकर्षण गराए पनि सरकारले नै ढिलाइ गरेको ओलीको भनाइ थियो ।

कानून व्यवसायी र संविधानविद्हरुले राष्ट्रिय सभा गठन गरेर मात्रै राजीनामा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको प्रसंग उल्लेख गर्दै ओलीले गैरसंवैधानिक तरिकाले संविधानको ब्याख्या गर्न खोजिएको बताए ।

‘आ–आफ्नो तरिकाले संविधानको ब्याख्या गर्न पाइन्छ ?’ ओलीले प्रश्न गरे, ‘संसरभरकै व्यवस्था हो । हाम्रो पनि पहिला यस्तै भएको थियो । निर्वाचन सकिएपछि नयाँ सरकार गठनपछि मात्रै राष्ट्रिय सभा गठन हुन्छ ।’

, , , ,