रुकुमेलीको आयोजनामा अमेरिका टेक्सासको अष्टिनमा बनभोजको आयोजना, सबै नेपाली सहभागी हुन सक्ने

टेक्सास (अष्टिन)- अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा टेक्सासको अष्टिनमा यही डिसेम्बर २१ तारिख बिहिबारका दिन भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको छ ।

अष्टिनस्थित Emma Long Metropolitan Park मा आयोजना गरिन लागेको बनभोजमा आयोजक रुकुमेलीहरु भएपनि सबै नेपालीहरु सहभागी हुन सक्ने बताइएको छ ।

अमेरिका र त्यसमा पनि टेक्सास राज्यमा रुकुमेलीहरुको संख्या बढ्दै गर्दा एक आपसमा सहयोग आदानप्रदान तथा परिचय गर्न संगै अष्टिनमा बस्ने नेपालको अन्य भेगका नेपालीहरु संग रुकुमेलीको सम्बन्ध बढाउन बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

अमेरिकामा रहेका रुकुमेलीहरुको आयोजनामा पहिलो पटक अष्टिनमा आयोजना हुन लागेको बनभोज कार्यक्रममा रुकुमेली संगै अष्टिनमा बस्ने नेपालीहरुलाई सहभागीताको लागी आग्रह गरिएको बनभोज तयारी समितीका संयोजक मोहन के सी ले जानकारी दिनुभयो ।

बनभोजमा रुकुमेली परम्परागत नृत्य समेत प्रस्तुत गरिने छ । बनभोज कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारी संगै स्थानीय नेपाली संघ संस्थाका पदाधिकारीहरु पनि सहभागी हुने भएका छन् ।

डिसेम्बर २१ तारिख दिउंसो १२ बजेदेखी शुरु हुने बनभोज बेलुका ६ बजेसम्म चल्नेछ । रुकुमेली परम्परागत सिंगारु, टप्पा, लहरे नाच बनभोजका मुख्य आकर्षण हुनेछन् भने रुकुमेली साथीभाई आफन्त संगै सबै नेपालीहरुको भेटघाटलाई कार्यक्रमले प्राथमिकता दिएको छ ।

अष्टिनको रमणिय र बिशाल (Emma Long Metropolitan Park 1600 City Park Rd, Austin, TX 78730) पार्कको अवलोकन तथा मनोरञ्जनात्मक कार्यक्रम हुने बनभोजमा खानाका बिभिन्न परिकार पनि हुनेछन जसका लागी कार्यक्रममा सहभागी हुन २० डलरमा टिकट पाइने आयोजकले जनाएको छ ।

बनभोजलाई भव्य र ऐतिहासिक बनाउन तयारी तिब्र पारिएको तथा सबैको सहभागीता र साथको अपेक्षा गरेको आयोजकको भनाई छ ।