नेमकिपाको गढमा एमालेले लालझण्डा



२५ मंसिर २०७४

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुरमा यस पटक एमालेले आफ्नो लालझण्डा फहराउन सफल भएको छ। एमालेले प्रतिनिधि सभातर्फ भक्तपुर क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ भक्तपुर क्षेत्र नम्बर २ को (क) र (ख) तथा क्षेत्र नम्बर १ को (क) मा विजय हात पार्‍यो।

त्यसो त नेमकिपाले भक्तपुर क्षेत्र नम्बर २ यसअघिको संविधान सभा निर्वाचनमै गुमाइसकेको हो। त्यतिबेला नेमकिपाका सुनील प्रजापतिलाई नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले चार हजार मतअन्तरले पराजित गरेका थिए।

यसपटक भने वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार महेश बस्नेतले भक्तपुर २ मा विजय हात पार्दा नेमकिपाकी उम्मेदवार अनुराधा थापामगर तेस्रो स्थानमा मात्र सीमित भइन्। एमाले र कांग्रेसका उम्मेदवार पाँच अंकमा मत ल्याउँदा नेमकिपा चार अंकको मतमै सीमित भयो।

एमाले र माओवादीको मत जोडेको भए अघिल्लो चुनावमै महेश बस्नेतको मत विजयी उम्मेदवारको भन्दा बढी हुन्थ्यो। वाम गठबन्धनको फाइदा बस्नेतलाई त भयो नै, उनले उद्योग मन्त्री हुँदा सुधारेको छवि पनि यो जितका लागि सहयोगी बन्यो। ओली निवास रहेको क्षेत्रका दुवै प्रदेश सभा सदस्यमा एमाले नै विजयी भयो।

उता, भक्तपुर क्षेत्र नम्बर १ मा भने २०४६ को परिवर्तनपछिका हरेक चुनावमा नेमकिपा विजयी हुँदै आएको छ। यस पटक पार्टी अध्यक्ष नारायणमान बिजुक्छे यो क्षेत्रमा उठेनन्, उनले प्रेम सुवाललाई उठाए। सुवालले राम्रै अन्तरमा जिते पनि।

तर नेमकिपा भक्तपुर १ को प्रदेश सभा (क) तर्फ भने पराजित भयो। प्रदेश सभाको यो क्षेत्रमा एमालेका हरिशरण लामिछाने विजयी भए। नेमकिपा तेस्रो स्थानमा सीमित भयो। स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्म सबैमा 'क्लिनस्विप' गरेको नेमकिपा प्रदेश सभामा भने कसरी पराजित भयो?

क्षेत्र निर्धारण कसरी गरियो, त्यो हेरियो भने यसको जवाफ पाइन्छ।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा चाँगुनारायण नगरपालिका पूरै र भक्तपुर नगरपालिकाको वडा नम्बर १० लाई मात्र राखिएको छ। चाँगुनारायण नगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित भएका थिए। त्यहाँका नौ वटा वडामा पनि एउटा वडामा मात्र नेमकिपा विजयी भएको थियो। बाँकी चारमा एमाले र चारमा कांग्रेस अध्यक्ष निर्वाचित भएका थिए।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) तर्फ भने भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म थिए। प्रदेश सभा सदस्यको परिणाम पनि नेमकिपाकै पक्षमा आयो।

, , , ,