लोकतन्त्रमा कसैको हार हुदैन - -सतिश चापागाईं


 -सतिश चापागाईं 

केहिदिन अगाडी तथा एउटा अनौपचारिक कार्यक्रममा नेजाका उपाध्यक्ष तथा पत्रकार मित्र गुणराज लुइँटेलले भन्नुभयो- "तपाइको त्यो मन्तब्य साह्रै अनुकरणीय छ । हामीले जहाँ पनि लौ है चुनाबमा पराजित भएपछी सतिश जीले जस्तै स्वीकार गर्नुपर्छ है भन्ने गरेका छौं ।" संगै रहेका अध्यक्ष भोला आचार्यले पनि भन्नुभयो, "हो त्यो त बेजोड थियो ।"

मेरो मन्तब्य बेजोड र अनुकरणीय थियो की थिएन त्यसतर्फ नजाउँ । तर, बिषय भने अहिलेको समयसंग सान्दर्भिक लागेर यो बिषयमा लेख्न मन लाग्यो । आज नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका लागी दोस्रो चरणका निर्वाचन भईरहेका छन् । केही समयमा निर्वाचन सम्पन्न हुनेछ र योसंगै निर्वाचनको मतगणना शुरु हुनेछ | केही घण्टापछी मत परिणाम पनि आउन शुरु हुनेछ ।

मत परिणामपछि उमेद्वारहरुले आफुले जिते आफ्नो क्षमताका कारण जितेको भन्नेछन् । पार्टीको संगठन राम्रो भएकोले जितेको भन्ने छन् । तर हारेमा भने विपक्षीले धाँदली गरेको, बुथ कब्जा गरेको, पैसा बाँडेको लगायतका भएका र नभएका सबै आरोप लगाउने काम शुरु हुनेछ ।यो हाम्रो बिगतको अनुभवले सिकाएको पाठ हो । मतदान प्रक्रिया र मतगणना प्रक्रियामा पुरै सहभागी हुने अनि परिणाम मात्र स्वीकार नगर्ने हाम्रो चलन छ । निर्वाचनमा पराजय भएपछी उस्तै परे फेरी निर्वाचन हुनुपर्छ भन्नेहरु पनि भेटिन्छन । यसले निर्वाचन पद्धतिलाई सम्मान गरेको हुदैन । निर्वाचन पद्धति कागजी कुरा मात्र होइन, त्यहाँ भावना पनि जोडिएको हुन्छ ।

मेरो प्रसंगको कुरा गर्नु पर्दा मैले आफु पराजित भएको कुरा सहर्ष स्वीकार गरेको मात्र थिएँ । बाल्टिमोरको एउटा सामाजिक संस्थाको अध्यक्ष पदमा उठेको थिएँ । चुनाव आफ्नो पक्षमा बनाउन मैले सबै सकारात्मक पहल गरेको थिएँ । तर पराजित भएँ । पराजित केहि साथीहरु निस्केर हिड्नु पनि भयो । मेरा केही साथीहरुले अब हार्ने भईयो जाम भन्नुभयो, केहीले बस्नुपर्छ भन्नुभयो । पराजित हुने निश्चित हुदाहुदै पनि म मतगणना स्थलमा बसें र परिणाम घोषणा हुने कार्यक्रममा सहभागी भएँ ।

परिणाम घोषणा गरे लगत्तै निर्वाचन अधिकृतले मलाई केहि बोल्न अनुरोध गर्नुभयो । मैले पहिलो वाक्य मै "म निर्वाचन समितिले घोषणा गरेको परिणामलाइ स्वीकार गर्दछु" भनेको थिएँ । उपस्थित दर्शकदीर्घाबाट तालीको गड्गडाहट पाएँ । मैले निर्वाचित प्रतिद्वन्दीलाइ बधाई र शुभकामना दिएँ । सबै राम्रा काममा सहयोग गर्ने र नराम्रा कामहरुमा रचनात्माक सुझाब दिने घोषणा गरें । ३ मिनेटको मन्तब्यमा पटक पटक ताली त पाएँ नै, पछि धेरैले भेटेर नै मेरो यो कामको मुक्तकण्ठले प्रशंशा गर्नुभयो । मलाई चिन्ने नचिन्ने धेरैले सम्पर्क गरेर धन्यवाद दिनु भयो । एक बर्ष हुनै लाग्दा अघिल्लो हप्ता मात्र भर्जिनियामा त्यही प्रसंग उठ्दा मलाई खुशी लग्यो । कुरा त सबैले राम्रै गर्छन तरब्यबहारले नै परिबर्तनको दिशामा अग्रसर हुन सजिलो छैन ।

झट्ट हेर्दा त्यो सामान्य लाग्छ तर त्यती काम गर्न धेरै ठुलो साहस र मनैदेखिको ईच्छाशक्ती चाहिन्छ । महिनौंदेखि बिपक्षी ठानेको ब्यक्तीलाई बिजयको माला लगाएर बधाई दिनु कम्ता अफ्ठेरो काम होइन । तर ब्यालेटमा विश्वास गर्नेहरुले जिन्दगीलाई पद र प्रतिष्ठासंग जोडेका हुदैनन् । मैले आफु पराजित हुन सक्ने पूर्वानुमान पनि गरिसकेको थिएँ । मैले साथीहरुलाई भनेको थिएँ, "लाईफ इज लिगेसी" भनेर । सबै जितेकाहरुको मात्र चर्चा हुदैन संसारमा, हार्नेहरुको पनि उत्तिकै र कहिलेकाही त्यो भन्दा बढी चर्चा हुन्छ । मैले हार्दा पनि त्यही भएको थियो । 'हारेर पनि जितको शान' जस्ता शिर्षकमा समाचारहरु प्रकाशित भएका थिए ।

बिशेषगरी हाम्रो नेपाली समाजमा चुनाव हार्नै हुन्न भन्ने मनोरोग छ । जसले गर्दा हामीलाई पराजय स्वीकार गर्न धेरै अफ्ठेरो लाग्छ । जबकी हामी विदेशमा बसेर पनि यो ब्यबहारलाई आत्मसात गर्न सकिरहेका छैनौं । लगभग सबै मतदाता कार्यकर्ता भएको देशभित्रको चुनावमा त यो अपेक्षा कसरी गर्नु र ! पराजित हुने निश्चित भएपछी मतपत्र नै च्यात्नेसम्मको हर्कत त हामीले देखिसकेका छौं ।

 तैपनि, कालो बादलमा चाँदीको घेरा हुन्छ । गएका केही निर्वाचनहरुमा पराजित उमेद्वारहरुले बिजयी उमेद्वारहरुलाई मतगणना स्थल मै बधाई र शुभकामना दिएको दृष्टान्त पनि हाम्रा सामु छन् । यो पटक सबै पराजित उमेद्वारहरु लुसुक्क हिड्ने छैनन्, बिजयी उमेद्वारलाई माला र अविर लगाईदिएर बधाई दिदै सफल कार्यकालको शुभकामना दिनेछन । जसले गर्दा आफ्नो क्षेत्रका सबै मतदाताको सम्मान हुनेछ । लोकतान्त्रिक पद्धती ब्यबहार मै लागु हुनेछ ।

 यो देखेर सर्बसाधारण जनताले भन्नेछन- 'लोकतन्त्रमा कसैको हार हुदैन ।'

, , , , ,