एक्लाएक्लै एकता वार्ता : यस्तो छ ओली र प्रचण्डको आ-आफ्नै दाउ



काठमाडौं, १४ माघ
 
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन, अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।

 ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली-दाहालबीच अढाई घन्टा छलफल भएको थियो।

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्। यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक विषय बनाई अलग-अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्।

ओलीको चाहना : आफू प्रधानमन्त्री हुने, त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने। पार्टी एकता र सरकार गठन प्रक्रियालाई अलग-अलग ढंगले अगाडि बढाउने।

दाहालको चाहना : सरकार गठनअगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिने। एमालेले सहअध्यक्षमा अल्मल्याउन खोजे उधारो कारोबार नगर्ने।

, , , ,