उच्च रक्तचाप पहाडभन्दा तराईमा कम


  दीपक दाहाल 

काठमाडौं,  ११ पुष २०७४

- अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

विभिन्न प्रकारका जोखिम वृद्धिसँगै नेपालमा उच्च रक्तचापको समस्या बढ्दै जाँदा क्षेत्र र भूगोलमा बसोबास गर्ने जनसंख्याका आधारमा समेत भिन्नता देखिएको हो । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ ले पहिलोपटक देशव्यापी रुपमा रक्तचाप आँकडा संकलन गरेको थियो ।

भूगोलका आधारमा उच्च रक्तचापका बिरामीमा देखिएको भिन्नतालाई चिकित्सकले रोचक भनेका छन् । सर्वेक्षणअनुसार राष्ट्रिय औसतमा १५ वर्ष उमेर समूहमाथिका २३ प्रतिशत र १७ प्रतिशत महिलामा उच्च रक्तचाप हुँदा प्रदेश २ मा १८ प्रतिशत पुरुष र १३ प्रतिशत महिलामा मात्रै यो समस्या छ । तर बढी पहाडी जिल्ला रहेका प्रदेश ४ मा ३१ प्रतिशत र प्रदेश ३ मा २९ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । चिकित्सकका अनुसार विश्वव्यापी रुपमै रक्तचापको समस्या पुरुषको तुलनामा महिलामा कम हुन्छ ।

महिलामा पनि ४ नम्बर प्रदेशका २४ प्रतिशत र प्रदेश ३ का १९ प्रतिशतमा उच्च रक्तचाप छ । प्रदेश ३ र ४ मा नेपालका २४ वटा हिमाली र पहाडी जिल्ला पर्छन् । प्रदेश २ मा पर्सादेखि सप्तरीसम्म तराईका ८ जिल्ला पर्छन् ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार तराईवासीमा रक्तचाप कम र पहाडवासीमा बढी देखिनुको कारणमा तापक्रम, सहरी जनसंख्या, समृद्धि प्रमुख कारण हुनसक्ने बताए । ‘तराईमा कम हुनुको प्रमुख कारणचाहिँ तापक्रम बढी हुनु हो,’ उनले भने । चिकित्सकका अनुसार बढी तापक्रम हुँदा रगतका नसा विस्तार हुने भएकाले रक्तप्रवाह बढी सहज हुन्छ । ‘चिसो ठाउँमा रगत बढी बाक्लो हुने र नसा खुम्चिने हुँदा रक्तचाप पनि बढी हुन्छ,’ अनिलले भने ।

यत्तिकै पनि रक्तचाप बढी हुने भएकाले हृदयाघात र मस्तिष्कघात समस्या पनि मौसमी हिसाबले गर्मीको तुलनामा चिसोमा बढी हुन्छ । हृदयाघात, मिर्गौला फेलियर, मस्तिष्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने, पक्षाघातजस्ता रोगको प्रमुख कारण उच्च रक्तचाप हो । पहाडी र सहरी क्षेत्रमा उच्च रक्तचाप बढी हुनुमा सहरी जनसंख्या बढी समेटिनु अर्को कारण रहेको अनिलले बताए । ‘यो क्षेत्रमा धेरै सहरी क्षेत्र पनि छ । खानपान र जीवनशैली रक्तचाप बढाउने खालको हुनाले पनि यस्तो भएको हुनसक्छ,’ उनले भने ।

सरकारी तथ्यांक हेर्दा पहाडी र हिमाली क्षेत्रमै पनि बढी ग्रामीण क्षेत्र र यातायातका साधन कम चल्ने ठाउँमा ३ र ४ नम्बर प्रदेशका बासिन्दाको तुलनामा रक्तचापको समस्या कम देखिएको छ । सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्ला समेटेको प्रदेश ७ का १० प्रतिशत महिला र १८ प्रतिशत पुरुषमा रक्तचापको समस्या छ । ‘मानिसको आनिबानी, बढी श्रम गर्ने  भएर रक्तचाप कम भएको होला ती क्षेत्रमा’, उनले भने ।

अनिलले अनुसन्धानले अनुमान गरिएभन्दा कम जनसंख्यामा मात्रै उच्च रक्तचाप देखाएकाले समग्र तथ्यांक संकलन तरिका (प्रविधि) मा शंका गर्नुपर्ने ठाउँ भएको बताए । ‘२० वर्षअघि काठमाडौंमा गरिएको एक सर्वेक्षणले २५ प्रतिशतमा रक्तचापको समस्या देखाएको थियो,’ उनले भने, ‘एक वर्षअघि हामीले गरेको अध्ययनले पनि उपत्यकामा ३० प्रतिशतमा यो समस्या देखाएको थियो ।’

अनिलले कुन तहको जनशक्तिले रक्तचाप नापे, कस्तो अवस्था र कति सही ढंगले नापे भन्ने कुराले आँकडा फरक पर्नसक्ने बताए । उनका अनुसार आमरुपमा रक्तचाप समस्या बढिरहेको छ । शारीरिक निष्क्रियता, खानामा बढी नुनिलो–चिल्लोको मात्रा, मानसिक तनाव, अत्यधिक मदिरा प्रयोग, धूमपान र वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या देखिन्छ ।
चिकित्सकका अनुसार मुटु तथा रक्तनलीसम्बन्धी रोगको प्रमुख जोखिमका रूपमा मधुमेह, धूमपान, उच्च रक्तचाप, मदिरा सेवन, रगतमा बोसोको मात्रा (उच्च कोलेस्टेरोल) र मोटोपनलाई लिइन्छ । यस्ता जोखिमले मिर्गौला फेल, मस्तिष्कघात, प्यारालाइसिस र क्यान्सरसमेत हुनसक्छ । मधुमेह, रक्तचाप, कोलेस्टेरोल र मोटोपनमध्ये एक जोखिम हुँदा ढिलोचाँडो अन्य समस्या बढ्ने सम्भावना अधिक हुन्छ ।

यसअघि स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको रिक्स फ्याक्टर सर्वेक्षण, सन् २०१३ ले पनि खतरनाक रोगको जोखिम बढिरहेको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका ७० इलाकाका २ सय १० वडाका १५ देखि ६९ वर्ष उमेरका ४ हजार १ सय ४३ जनामा गरेको सर्वेक्षणले २५ प्रतिशतमा उच्च रक्तचाप समस्या देखाएको थियो ।
चिकित्सकका अनुसार खाना, व्यायाम, सकारात्मक सोच एवं मनोरञ्जनले जीवनशैलीले रक्तचापको जोखिम घटाउँछ । नुन कम खाने, मोटोपन घटाउने, रक्सीचुरोट नखाने, तनाव नलिने गर्दा रक्तचाप नियन्त्रणमा आउन सक्छ । धेरै मानिसमा रक्तचापको औषधि सेवन गर्न नखोज्ने र एक पटक औषधि लिन सुरु गरेपछि छोड्न मिल्दैन भन्ने भ्रमसमेत रहेको उनले बताए ।

के हो रक्तचाप
मुटुले खुम्चिने र फुल्ने प्रक्रियामा एउटा पम्पको काम गर्छ । मुटु खुिम्चँदा शरीरका विभिन्न अंगमा सफा रगत सञ्चार हुन्छ भने मुटु फुल्दा विभिन्न अंगबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । यसरी खुम्चने र फुल्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डायस्टोल भनिन्छ । यसरी रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ । मुटु खुम्चिएका बेला मुटुबाट तीव्र गतिका साथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक रक्तचाप र मुटुको डायस्टोलको अवस्थामा रक्तनलीमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा सिस्टोलिक रक्तचाप ९० मिमिदेखि १४० मिमिसम्म र डायस्टोलिक रक्तचाप ६० मिमिदेखि ९० मिमिसम्म हुन्छ ।
विश्व स्वास्थ्य संघको परिभाषाअनुसार सिस्टोलिक रक्तचाप १६० मिमि (माथि) वा बढी र डायस्टोलिक रक्तचाप (तल) ९५ मिमि वा बढी भएमा उच्च रक्तचाप मानिन्छ ।
उच्च रक्तचापका कारक
मानसिक तनाव
वंशाणुगत तŒव
मोटोपन
अत्यधिक नुन सेवन
रक्तनलीमा आउने कडापन

सम्भावित जोखिम
हृदयाघात
पक्षाघात
मिर्गौैलाघात
दृष्टिघात

रक्तचापका लक्षण
टाउको दुख्नु र चक्कर लाग्नु
छाती दुख्नु
दम बढ्नु
नाकबाट रगत आउनु

, , ,