पौडेल हत्याको विरोधमा उद्योग व्यवसायी सडकमा


 बुटवल, २३ पुस
रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको बिरोधमा रुपन्देहीका उद्योग  व्यवसायी सडकमा उत्रिएका छन् ।

रुपन्देहीमा शनिबारदेखि अनिश्चितकालिन बन्द जारी राख्दै अाज उद्योग व्यवसायीले बुटवलमा मौन जुलुस प्रर्दशन गरेका हुन् । व्यवसायिक संघ सस्थाहरुको सञ्जालको आब्हानमा भएको बृहत मौन जुलुसले बुटवल बजार परिक्रमा गरेको थियो । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको मौन जुलुस, मिलनचोक, अस्पताललाइन, अमरपथ हुदै टाफिक चोकमा पुगेर समापन गरिएको थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, पश्चिम नेपाल वस व्यवसायी संघका महासचिव जीवन बञ्जाण्डे, रुपन्देही व्यापार संघका तथा उद्योग व्यापार संगठन बुटवलसहित विभिन्न संघ सस्थाका पदाधिकारीले मौन जुलुसकाे नेतृत्व गरेको छन् ।

जुलुसमा  उद्योगी व्यवसायी, राजनीतिक दलका कार्यकर्ता, विद्यार्थी तथा स्थानीयले सहभागिता जनाएका थिए । उद्योगी व्यवसायीहरुले यस्ता खालका क्रुर र अमानवीय घटना प्रति व्यवसायी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै सुरक्षाको ज्ञारेण्टी गर्न माग गर्दै आएका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, उद्योग व्यापार  संगठन बुटवलका अध्यक्ष खेमवहादुर श्रीषले शनिवार नै संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ता खालका क्रुर र अमानवीय घटना प्रति व्यवसायी संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका थिए ।

श्रृंखलाबद्घ ढंगबाट निरन्तर घटिरहेका यस्ता खालका दुखद् र त्रासदिपूर्ण घटनाले व्यवसायिक सुरक्षा प्रति प्रश्न चिन्ह खडा भएको भन्दै उनीहरुले जिल्लाको व्यवसायिक क्षेत्र अन्योल बनेको बताएका छन । उनीहरुले हत्याको घोर भत्र्सना गर्दै हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न र व्यवसायिक सुरक्षाको ग्यारेण्टी गर्न जोडदार माग गरेका छन् ।

अनिश्चितकालिन बन्द जारी

रुपन्देहीको देवदह नगरपालिकामा गोलि प्रहारबाट मारिएका एमाले कार्यकर्ता स्थानिय  व्यवसायी बसन्त पौडेल (बलु) को हत्या विरुद्धमा रुपन्देहीमा शनिवारदेखि अनिश्चितकालिन बन्द आइतबार पनि जारी छ ।

हत्यारालाई पक्राउ गरी कारवाही गर्नुपर्ने तथा सुरक्षाको ज्ञारेण्टी हुनुपर्ने माग रुपन्देहीका हरेक क्षेत्रको रहदै आएको अवस्थामा युवा संघको आब्हानमा अनिश्चित कालिन बन्द सुरु गरिएको हो । बन्दमा अनेरास्ववियुले पनि एक्यवद्धता जनाएको छ ।

अनिश्चितकालिन रुपन्देही बन्दका कारण यातायात, उद्योग व्यापार सबै ठप्प छन् । बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर हत्याको बिरोध जनाउदै बन्द गराएका छन ।

युवा संघले रुपन्देहीको देवदह नगरपालिका वडा नं.– २ ढिकार निवासी युवा संघ रुपन्देहीका नेता, सफल उद्योगी बसन्त पौडेल (बलु) लाई उनकै उद्योग अगाडि शुक्रवार बिहान ११ बजे गोली हानी हत्या गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै हत्यरालाई पक्राउ गरी कारवाही गर्न तथा सुरक्षाको प्रत्यभुति दिलाउन माग राख्दै अनिश्चित कालिन बन्द जारी छ ।

, , ,