पोखरेली न्युजले आरोग्य आश्रमलाई सिरक बाँडे, लायन्स टुरिजम सिटीले नगद

पोखरा, २७ पौष
पोखरेली न्युज साप्ताहिक पत्रिका तथा पोखरेली न्युज डट कमले राष्ट्रिय एकता दिवसको अवसरमा पोखरा टुटुङ्गा स्थित पोखरा आरोग्य आश्रममा आश्रित बृद्धबृद्धाहरुका लागि सिरक तथा खाद्यान्न बितरण गरेको छ । पोखरेली न्युजका प्रबन्ध निर्देशक उत्तम गुरुङले आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई ति सामाग्री हस्तान्तरण गरेका हुन् । नेपाल कुष्ठरोग निवारण संघ द्धारा सञ्चालित आश्रममा १३ जना बृद्धबृद्धा छन् ।

कार्यक्रममा बोल्दै पत्रिकाका प्रबन्ध निर्देशक उत्तम गुरुङले अर्काका लागि बाँच्नु नै सार्थक जीवन भएको बताए । ‘सहयोग भन्दा आवश्यकता ठुलो हुने भएकोले जाडोमा न्यानो सिरक बितरण गरिएको हो ’ उनले भने । पत्रिकाले १४ थान सिरक तथा खाद्यान्न बितरण गरेको हो ।  आश्रमका अध्यक्ष नारायण शर्माले २०४६ सालमा स्थापित आश्रममा कुष्ठरोग लागेर अङ्गभङ्ग भएका तथा परिवारमा कोही नभएका ब्यक्तिहरुलाई आश्रय प्रदान गरिएको बताए । आश्रममा दैनिक खानपिन तथा औषधोपचार सहितको सेवा प्रदान गरिएको छ । पत्रिकाका निर्देशक एकराज गिरीले सत्य र तथ्य समाचार मात्रै नभई समाजको सकारात्मक परिवर्तनका लागि पत्रिकाले काम गर्ने बताए । ओम डेभलेभमेट बैंक न्युरोड शाखाका प्रबन्धक सुदिप पौडेलले युवाहरुले ब्यवसाय मात्रै होइन समाजसेवा पनि गर्नुपर्नेमा जोड दिए ।

यसैविच लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले आश्रमलाई रु दश हजार नगद सहयोग गरेको छ । क्लबका अध्यक्ष बिष्णुबाबु खड्काले समाजसेवाका लागि आफु जस्तोसुकै परिस्थितीमा पनि हरदम तयार रहेको भन्दै क्लबको तर्फ बाट आश्रमलाई नगद सहयोग गरेका हुन । रकम आश्रमका अध्यक्ष नारायण शर्मालाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो । पत्रिकाका प्रबन्ध निर्देशक उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्पादक सन्जय मल्लले गरेका थिए । 

, ,