सय दिनमै बनाए धुर्मुस सुन्तलीले सन्तपुर बस्ती


 अक्षर काका  
२०७४ माघ १५ सोमबार 


काठमाडौं । गरिबी, विपन्नता र पुस्तैनी दुःखको आहालमा चुर्लुम्म डुबेका ‘निर्धनहरू’को सेवामा जुटेका हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरेले ‘सुन्तली’ले रौतहटको सन्तपुरमा चौथो एकीकृत बस्तीको निर्माण सम्पन्न गरेका छन् ।

साउन अन्तिम साता आएको विनासकारी बाढीले पखालेको विपन्न ४७ घर परिवारलाई धुर्मुस सुन्तलीले माघको ठन्डीमा घर हस्तान्तरण गर्न लागेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेशनले सुरूमा माघ २४ गते हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो । तर, सोही दिन राष्ट्रियसभाको निर्वाचनको मिति तय भएकाले उनीहरूले तीन दिन वर सारेर २१ को मिति तय गरेका थिए ।

तर, भ्यू टावरको काम नसकिएकाले २३ गते हस्तान्तरण गर्ने मिति तय भएको कट्टेलले बाह्रखरीलाई बताए ।

रातदिन नभनी निर्माण

मध्यवर्षाको बाढीले तराई–मधेसमा ठूलो जनधनको क्षति पुर्‍याएपछि हास्य कलाकार जोडी उद्धार र राहत वितरणमा खटिए । पूर्वदेखि पश्चिमसम्म पुगेर उद्धार र राहत वितरणमा आफूलाई समाहित गरे । तराई–मधेसको बाढीको पीडाले विक्षिप्त भएको यो जोडीले तीन महिनाकै अवधिमा ४७ वटा घर निर्माण गरी हस्तान्तरणको तयारीमा जुटेका छन् ।
“साउन २८ गतेदेखि नै हामी राहत र उद्धारमा खटियौँ,” उनले बाह्रखरीसँग भने, “राहत वितरण गर्दागर्दै सोच्यौँ, राहत वितरणसँगै बाढीले बगाएर खुला आकाशमुनि रात विताउन विवशहरूका लागि एकीकृत बस्ती बनाउनुपर्छ । त्यही सोचका साथ बस्ती बनाएका हौँ ।”

ठाउँको खोजी गर्दै जाँदा रौतहट, चन्द्रपुर–८को सन्तपुर बस्ती छनोट गरिएको उनको भनाइ छ । करिब सय दिनको अन्तरालमै बस्ती निर्माण गरी हस्तान्तरण योग्य बनाएको फाउन्डेशनले जानकारी दिएको छ ।

“अहिले भ्यु टावरको काम र रङ रोगनको काम बाँकी रहेको छ,” उनले निर्माण अवस्थाको जानकारी दिँदै भने, “सम्पूर्ण काम पूरा गरी माघ २३ गते हस्तान्तरण गर्छौं ।”

९० लाख अपुग

संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीसँग सहयोग जुटाएर उनीहरूले बस्ती बनाएका हुन् । अरूलाई सहयोग गर्न दिलोज्यान दिने दम्पत्ति अहिले आफैँ मर्कामा परेका छन् ।

बस्ती हस्तान्तरण गर्ने तिथि नजिकिँदै जाँदा उनीहरू चिन्तित देखिएका छन्– “बस्ती बनाउन अपुग रकमको जोहो कसरी गर्ने ?”

बस्ती बनाउन करिब ५ करोड ९५ लाख लागत अनुमान गरिएकोमा अझै ९० लाख अपुग रहेको र दाताहरूसँग सहयोगको अपेक्षा गरिएको कट्टेलले जानकारी दिए ।

“बस्ती हस्तान्तरण गर्न अझै ८ दिन बाँकी छ । त्यस अवधिभित्र रकम उठ्ने अपेक्षा गरेका छौँ,” उनले विश्वस्त हुँदै भने, “ २३ गतेसम्म रकम उठ्ने आशा मारिसकेका छैनौँ ।”

यस्तो छ बस्ती

सन्तपुरमा ४७ वटा घर निर्माण गरिएको छ भने बस्तीको बीचमा क्लबघरसमेत निर्माण गरिएको छ । त्यस्तै बस्तीमा बसोबास गर्नेहरूले मानि आएको देवता रहेको मन्दिर, भित्रीबाटो र भ्यु टावर रहने धुर्मुस बताउँछन् ।

त्यस्तै बस्ती पूर्णतया वातावरण, अपाङ्गता, बालमैत्री रहने छ । बस्तीको बीचमा सन्तपुर बस्ती निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने दाताहरूको नामावली राखिएको सहयोग–स्तम्भ निर्माण गरिने धुर्मुसले जानकारी दिएका छन् ।

सन्तपुर एकीकृत बस्ती धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो । यसअघि ०७२ सालमा काभ्रे, डाँडा गाउँका भूकम्पपीडित २० घर परिवारलाई एकीकृत बस्ती बनाएको थियो । त्यस्तै ०७३ सालमा सिन्धुपाल्चोक गिरानचौरका ६५ घर भूकम्पपीडित परिवारलाई एकीकृत नमुना बस्ती, ०७३ सालमै महोत्तरी, बर्दिबासका ५४ घर मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती पनि फाउन्डेसनले बनाइसकेको छ ।

त्यस्तै फाउन्डेसनले ५ अर्ब अनुमानित लागत रहेको ‘विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नमुना नेपाल’ परियोजना पनि ललितपुरको लेलेमा सुरू गरिसकेको छ । नेपाल इन्जिनियर्स एसोसिएशनको प्राविधिक सहयोगमा बस्तीको प्राविधिक सर्भे भइरहेको फाउन्डेशनले जानकारी दिएको छ । बाह्रखरीबाट

, , , ,