गठबन्धन फुटाउनेतिर नलाग्न कांग्रेसलाई दाहालको सुझाव


  २०७४ पौष २१ शुक्रबार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्थी शक्तिहरुलाई फुटाउनेतिर नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको पहिलो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिहरु फुट्दा देशको विकास र समृद्धि नहुने भन्दै वामपन्थी शक्तिलाई फुटाउनतिर नलाग्न कांग्रेसलाई आग्रह गरेका हुन् । उनले भने, ''अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु । तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस्। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला  आएको छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ। हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं।”

अध्यक्ष दाहालले बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको पनि बताए । “२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए” प्रचण्डले भने, “अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ। हामी वामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा वामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं।”

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहालले हालसालै सम्पन्न भएको चुनावमा जनताले दिएको अभिमतलाई सम्मान गर्न नसकेमा देश अप्ठयारोमा पर्ने सक्ने जिकिर समेत गरे ।

 “राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौं, अब हाम्रो कार्यभार आर्थिक समृद्धि र विकास हो। ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढे” अध्यक्ष दाहालले भने, “हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ।" बाह्रखरीबाट
 

, , ,