'माननीय' मनाङ्गेको खोजीमा प्रहरीका तीन टोली!



१४ माघ २०७४


काठमाडौं : प्रदेश ४ को मनाङबाट प्रदेशसभा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई खोजी गर्ने प्रहरीले टोली परिचालन गरेको छ।

नेकपा एमालेको 'ब्याकिङ'मा स्वतन्त्र हैसियतमा प्रदेश सभाको निर्वाचनमा जित हासिल गरेका उनी सपथ ग्रहण समारोहमा समेत पुगेनन्।अदालतबाट दोषी ठहरिए पनि कैद भुक्तान गरे/नगरेको खोजी कसैले गरेन। र, उनी उम्मेदवार भए र जिते पनि। तर, जितिसकेपछि खुलासा भयो – उनी उम्मेदवार हुनै अयोग्य थिए। अदालतबाट फौजदारी मुद्दामा दोषी ठहरिएका।

महानगरीय प्रहरी परिसर काठमाडौं,महानगरीय प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको तीन छुट्टाछुटै टोलीले मनाङेलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ।

रानीपोखरीले डिएसपीको कमान्डमा मनाङ्गेलाई खोजी गरिरहेको छ। त्यस्तै काठमाडौं केन्द्रीय अनुसन्धान व्यूरोले पनि मनाङ्गेलाई समात्न डिएसपी नै खटाएको छ।

अदालतको फैसलापछि मनाङे संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो। पुनरावेदनको म्याद समेत गुज्रिसकेको छ उनको। प्रहरीको फरार सूचीमा रहेका मनाङेलाई प्रहरीले खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए। उनले भने, 'मनाङ्गे फरार अभियुक्त हुन्। हामी खोजी गरिरहेका छौं।'

प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् मनाङे माघ ७ गते पोखरामा भएको प्रदेशसभा सदस्यको शपथ कार्यक्रममा उपस्थित भएनन्। ज्यान मार्ने उद्योगमा अदालतले दोषी ठहर पछि मनाङ्गेलाई प्रहरीले खोजी गरिरहेको छ। मनाङ्गे दुई सातादेखि फरार छन्। पहिलोपोस्टबाट

, , , , ,