तरुण तपसीमा लेखनाथ पौड्याल




केशव अधिकारी

नेपाली साहित्यका धेरै उज्याला नक्षत्रहरूमध्ये लेखनाथ पौड्याल पनि एक हुन्। वि.सं. १९४१ मा कास्की जिल्लाको सुन्दर गाउँ अर्घौं अर्चलेमा जन्मेर उनले करिब ९ वर्षकै उमेरमा चण्डीजस्ता संस्कृतका धार्मिक पुस्तकहरू पढेर कण्ठस्थ गरेका थिए। त्यसै उमेरको कुनै दिन काका पितृप्रसादसँग उनी गाई चराउन गएका थिए। त्यस बखत काकाले मालिङ्गाको कलम, मसीको भाँडो, नेपाली मडुवा कागज लगेर चश्मा लगाई कविता कोर्न तल्लीन थिए।

उता गाई, बाख्रा हेर्न वा फर्काउन बालक लेखनाथलाई अराउँदै पनि थिए। लेखनाथ काकाको अह्रोट मान्दै थिए र पनि बूढा काकाको पछाडिबाट आएर काकाले थाहै नपाई पहिले मनमनमा कविता वाचन गरे। केही समयपछि काकाको भाव नै खजमज हुने गरी कराएरै कविता वाचन गरिदिए। काका पितृप्रसादले भर्खर चार हरफ कविता लेखेर पाँचौँ हरफको भाव फुराउँदै गर्दाको समयमा भाव खजमज भएकाले लेखनाथदेखि निकै रिस उठ्यो।

काका पितृप्रसादले लेखनाथलाई ‘तँ कविता जान्दैनस्, जा गाई फर्का, तँलाई यहाँ आएर करा भनेको हो ?’ भनेर निकै झपारे। काकाको यो झपाराइले बालक मनभित्र निकै गहिरो चोट पुग्न गयो। त्यो चोटलाई उनले आफू पनि धेरै पढेर पण्डित बन्ने र राम्रा कविता रचना गरी नाम कमाउने भित्री र सकारात्मक वा रचनात्मक इख राखे। यसै इखका कारण उनले पण्डितभन्दा पनि माथिको पढाइ पढेर कविता पनि निकै उत्कृष्ट लेखी उनको समयका कविता विधाको एउटा कालखण्डको झन्डै सिङ्गो प्रतिनिधि बन्न सफल भए। पछिका कालखण्डमा उनलाई तत्कालीन सरकारले कवि शिरोमणिको पद दिएर सम्मान पनि गरेको थियो। तिनै कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गरेको ‘तरुण तपसी’ नव्यकाव्यको यथाशक्य समालोचना गर्नु यो लेखको अभिष्टता हो।

लेखनाथ पौड्याल संस्कृत भाषा र साहित्यको निकै गहिरो ज्ञान भएका कवि हुन्। उनले अरू धेरै कृतिहरू रचना गरी आफूलाई नेपाली कविहरूमध्ये एक वरिष्ठ कविका रूपमा चिनाएका छन्। उनी आफैँमा शास्त्रीय कविका रूपमा समेत स्थापित हुन पुगेका छन्। उनका फुटकर कविताहरू पनि उत्तिकै उत्कृष्ट छन्। उनैले रचना गरेको तरुण तपसी नव्यकाव्य एउटा उत्कृष्ट सृजना हो। यस नव्यकाव्यलाई महाकाव्य भनिए पनि हुने हो तर उनैले यसलाई नव्यकाव्य भनेकाले हामी सबैले नव्यकाव्य नै भनेका हौँ। तरुण तपसी नव्यकाव्यमा जम्मा १९ सर्ग वा भागहरू रहेका छन्। यो काव्य ज्यादै मीठो लाग्ने छन्द शिखरिणीमा रचना गरिएको छ। यसको भूमिकामा नाट्यसम्राट बालकृष्ण समले भनेका छन्, ‘शिखरिणी छन्द आफैँमा ज्यादै मीठो छन्द हो, त्यसमा पनि कसैलाई भावुक बनाएर रुवाउनुप¥यो भने यो छन्दकै प्रयोग गरिन्छ।’

तरुण तपसीको थालनीको प्रथम सर्ग वा विश्राममा कुनै एउटा रसिलो वर्षाऋतुको लामो दिनमा एकजना कवि बाटोको छेउको एउटा तपसी वा रुखको फेदमा बस्न पुगे। बस्दै गर्दा उनलाई बिस्तारै तन्द्राले च्याप्यो। उनी केही बेर त्यहीँ सुते। शरीर निदायो तर उनको मन भने त्यही तपसीको जीवनको एउटा इतिहास सुन्न तल्लीन थियो। त्यो सुनाइमा कवि स्वर्गीय आनन्दको अनुभूति गर्दै थिए। यसै अनुभूतिभित्रका चौँतीस सर्ग वा विश्रामसम्म फैलिएर पहिलो विश्राम अन्त्य भएको छ।

दोस्रो विश्राममा कविसमक्ष तपसीरुपको रूखले आफ्ना कथाव्यथाहरू सुनाउँदै छ– जब म बोट सानो थिएँ, बाटोको छेउमा उम्रिएको थिएँ। त्यस बेलामा मान्छेहरू आँखाले देखेर पनि अन्धाजस्तै बनेर मलाई टेक्दै हिँड्थे। कुनै पनि मानवले यसलाई स्याहारसुसार गरौँ भन्ने भाव राखेन भन्ने गुनासो गर्दै आजको मान्छेको धस्कँदै गएको नैतिक चेतनाप्रतिको व्यङ्ग्य हानेर केवल २७ विश्रामको फैलावटमा रहेको छ।

नव्यकाव्यको तेस्रो सर्गमा जब वर्षाऋतुले धेरै वर्षा गराएर पर्याप्त पानीको तरानले आफू अलि हुर्कन सकेपछि र शरद ऋतु लागेपछि छोटा पेटका पशुले मलाई सिङले हाने, मुखले लुछे, चपाए, विविध स्थानमा घाउ हुन पुग्यो, यति धेरै दुःख सहेर पनि आफू अलि हुर्केको र आफ्ना जटामा चराहरू चिर्बिराएको आवाजले आफूलाई निकै आनन्द दिएको कुरा तपसीले तिनै तरुण कविका सामुन्नेमा बताउँदै छन्। एकदिन कसैले उडाएको एउटा चङ्गा आफ्नो जटामा आएर अल्झेको र त्यसको कागज जति खेर गई केवल दुई करङ मात्र बाँकी रहेका देख्दा मान्छेको जीवन पनि यस्तै क्षणिक छ तापनि ऊ भएभरका फूर्ति लाउँछ भन्दै मान्छेको फोस्रो घमण्डलाई चुरा पारेको छ भन्दै केवल ३६ विश्राममा फैलिएर यो सर्गको अन्त्य भएको छ।

यस काव्यको चौथो सर्ग वा विश्राममा जब शरद ऋतुको समय सकिएर हिउँद महिनाको चिसोले सताउन थाल्यो, त्यसपछिका दिनमा आफ्नो पूरै शरीर चिसो भएर झन्डै मृत्युको मुखमा परेको थियो, तर परहितको भावले जन्म लिएको मैले जति चिसो भए पनि सहेर ठाडै उभिरहन सकेँ भन्ने भावका साथ केवल २६ श्लोकसम्म फैलिएर चौथो विश्राम बिट मरेको छ।

तरुण तपसी नव्यकाव्यको पाँचौँ विश्राममा शिशिर ऋतुको चिसो सकिएर पुनः वसन्तको आगमन भएपछि बल्ल मेरो शरीर साँच्चै तरुनो र आकर्षक बन्न पुग्यो। त्यसै समयमा धेरै मान्छे मिलेर मेरो कम्मरसम्म माटो, ढुङ्गा आदिले पुर्दै लगेर माथितिर एउटा आकर्षक चौतारो सिर्जना गरे। अब त्यस चौतारोमा हरेक मानिस आई थकाइ मार्दै स्वच्छ हावा फोक्सोमा भरेर पुनः आ–आफ्ना गन्तव्यतिर लाग्दै गर्दा आफूलाई ज्यादै आनन्द भयो। आफ्ना जटामा चराले गुँड लगाएर बस्दा मलाई झन् अपार आनन्द लाग्यो। तर एकदिन एउटा अनुहार नपरेको व्याधाले एक जोडी फुर्के चरामध्ये भालेलाई गुलेलीले हानेर मारेको घटनाले मान्छे पतनको बाटोमा हिँडेको कुरा महसुस गरी नरमाइलो लागेको कुरा तपसीरुपी रूखले कविलाई बताउँदै २७ श्लोकसम्म फैलिएर पाँचौँ सर्ग विश्रामित भएको छ।

यसको छैटौँ सर्ग वा विश्राममा पनि ब्याधाले गुलेलीले हानेर घाइते भएको चराको भाषामा कवि स्वयम् बोलेर आजका मानवलाई मानवताको साँचो पाठ पढाएका छन्। जम्मा ३१ श्लोकसम्म फैलिएर छैटौँ सर्गको अन्त्य भएको छ। सातौँ सर्गमा चराको अनायास हत्यालाई लिएर मान्छेले बरु भोकै मर्नु किन नपरोस् तर अरू प्राणीको हत्या–हिंसा गर्न नहुने सन्देश दिएको छ। यस्तै सन्देशका साथ केवल २६ श्लोकसम्म छरिएर सातौँ सर्गको अन्त्य भएको छ। आठौँ सर्गमा तपसी रूखले आफ्नो पयरको चौतारोमा धेरै थरीका मान्छे आउने र बस्ने गरे पनि जो बाहिरका सफाजस्ता थिए ती सबै भित्री मनका कालो दाग भएका थिए, त्यसकारण मान्छेको विश्वास गर्न नसकिने कुरा बताउँदै त्यो चौतारो सबैको साझा चौतारी हुनुपर्ने थियो तर त्यसमा पनि बलियाहरूले नै शासन जमाएकाले राम्रो नलागेको कुरा बताउँदै ३० श्लोकमा विश्राम लिएको छ।

तरुण तपसीको नवौँ विश्राममा एक जाडो महिनाको रातमा एउटा गरिब मान्छेले त्यही चौतारोमा रातभर दाँत कटकटाएर रात बिताएकोले ऊ आफ्नो पाहुना भए पनि उसलाई केही खानेकुरा खुवाउन नसक्दा आफ्नो जीवन नै व्यर्थ भएकोले भगवान्सँग तपसी रूखले धेरै फल फलाइदिन अनुरोध गरेको प्रसङग आई केवल २९ श्लोकको विश्राममा रमाएको छ। यसको दशौँ सर्गमा रूखको अनुरोध भगवान्ले सुनेर एकै रातमा फलले लदाबदी बनाइदिए। रुख ज्यादै खुशी भयो भन्दै दशौँ सर्ग सकियो भने एघारौँ सर्गमा आफ्ना जटामा फलेका फलमा एकाधिकार जमाएपछि तिनले बेच्न थालेको प्रसङ्ग आई मान्छे स्वार्थी र लालची बन्दै गएकोप्रति दुःख व्यक्त भएको छ। त्यसरी फेरि तिनै बलियाले सबै फल टिपेर जम्मा गरी बेच्न रखेको र गरिबको भाग खोसेकोमा तपसीलाई चिन्ता लागेको अनुभव गर्दै केवल ३४ श्लोकमा विश्राम लिएको छ।

एघारौँ सर्गमा पैसा कसले बनाएको होला भन्दै पैसाको नाममा मान्छेले आफूलाई चाहिने धेरै कुरा गुमाएको प्रसङग आउँदै केवल ३६ श्लोकमा एघारौँ सर्ग अन्त्य भएको छ। बाह्रौँ सर्गमा पैसाकै विषयमा तपसीले सोच्दै गर्दा एउटा जूनकिरीले पिलिक्क उज्यालो बालेको देखेर मान्छेलाई त्यसैसँग तुलना गर्दै मान्छेको नश्वर शरीर क्षणिक भएकोले उपकारी बन्नुपर्छ भनिएको छ र बाह्रौँ सर्ग २८ श्लोकमा मात्र सकिएको छ। तेह्रौँ सर्गमा तपसीको चौतारोमा धेरै थरीका मानिसहरू विभिन्न सोचले आउजाउ गर्दथे र सबैजसो त्यही पेट भर्नको लागि काम गर्दथे भन्ने सन्दर्भमा ३२ श्लोकमा सकिएको छ। यसको चौधौँ सर्गमा तपसीस्वरुपको रूखको फेदमा कसैले औँलाको सिन्दुर पुछेर र कसैले खानाको चामलका गेडा खसालेर साक्षात ईश्वर बनाएको र उनीहरू भाकल पनि विधिवश पुग्न गएकाले केही समय आफू भगवान् वा देवीको रूपमा पुजिएको प्रसङ्ग रोचक छ। यो चौधौँ सर्ग केवल २९ श्लोकको बिट मराइमा छ।

पन्ध्रौँ सर्गमा भौतिक र आध्यात्मिक विचारका बीचमा युद्ध परेको र भौतिकताको तुलनामा अध्यात्म निकै कमजोर हुँदै गएको प्रसङ्ग निकै रोचक छ। यो पन्ध्राँै सर्ग केवल ३८ श्लोकसम्म मात्र फैलिएर विश्रामित भएको छ। यसको सोह्रौं सर्गमा तपसीले यो संसारको विचार आफ्नो मनमा ल्याई हेर्दा यो संसार निकै चमत्कारपूर्ण लागेको कुरा बताएको छ र केवल ३२ श्लोकमा फैलिएर सकिएको छ। सत्रौँ सर्गमा हेर्ने हो भने कवि निन्द्राबाट उठेर यसो आफ्नो रचनामा हेर्दा ह्रस्व, दीर्घ मिलेका राम्रै लाग्दा पाएर खुशी भए।

यसै सर्गको केवल २४ श्लोकमा अन्त्य भएको छ भने अठारौँ सर्गमा स्वार्र्थी र अरूलाई सताएर खाने मान्छे मर्दा उसलाई ज्यादै गाह्रो भएको तर गरिब मर्दा आनन्द भएको कुरा उल्लेख गर्दै ३६ श्लोकको विश्राममा रोकिएको छ। यस नव्यकाव्यको अन्तिम वा १९ औँ सर्गमा आधुनिकताको नाममा मान्छेले गरेको भौतिक उन्नति र हतियार मोहप्रति कविको घना नफरत भएको देखिन्छ। यसरी तरुण तपसी नव्यकाव्य एउटा उत्कृष्ट काव्यका रूपमा दरिन पुगेको छ। यो काव्य लेखनाथ पौड्यालको काव्य लेखन क्षमताको कसी हो भन्दा फरक पर्दैन।

, ,