पार्टी एकतामा कुरा नमिलेसम्म माओवादी सरकारमा नजाने



 शिवनारायण गिरी  

२०७४ फागुन ३ बिहीबार

पार्टी एकतामा कुरा नमिलेसम्म माओवादी सरकारमा नजाने
काठमाडौं । नेकपा माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आज ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताइन् ।

उनले नेकपा एमालेसँग केही कुरा मिल्न बाँकी रहेकाले अहिले नै सरकारमा सहभागी नभए पनि समर्थन भने बाहिरबाटै गर्ने जानकारी गराइन् । “हामी एमालेसँग पार्टी एकताको विषयमा छलफलकै क्रममा छौं, आज हामी सरकारमा जाँदैनौं,” उनले भनिन् ।

माओवादी उच्च स्रोतका अनुसार एमालेसँग एकताका लागि धेरै कुरा अझै मिल्न बाँकी छ ।

पार्टी एकता कसरी गर्ने, नेतृत्व के हुने, पार्टीको सिद्धान्त कस्तो हुने भन्नेबारेमा अझै पनि कुरा मिल्न नसकेको उनको भनाई थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आन्तरिक छलफलमा अहिले नै सरकारमा सहभागी नहुने बताएको माओवादीका एक नेताले जानकारी गराए ।

“नेकपा एमाले र माओवादी केन्द्रबीच अहिलेसम्म पार्टी एकताका विषयमा कुनै सहमति भएको छैन,” नेकपा माओवादी केन्द्रका अर्का नेता मणि थापाले भने, “हामीले अहिले सरकारमा जानेबारेमा कुनै निर्णय गरेका छैनौं । पार्टी एकताको टुंगो लागेपछि मात्रै हामी सरकारमा सहभागी हुन्छौं ।”

माओवादी नेताहरु अहिले पनि आन्तरिक छलफलमै रहेको उनले बताए । तत्काल समर्थन गरेर जाने अनि पार्टी एकताको टुंगो लागेपछि मात्रै सरकारमा जाने निर्णय गरिने उनले बताए ।

माओवादी केन्द्रका अर्का नेता दीनानाथ शर्माले पनि पद र आलोपालोको विषयमा कुरा नमिलेकाले अहिले नै सरकारमा जानेबारेमा निर्णय नभएको बताए ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नभएको बताए । बाह्रखरी

, , , ,