एमालेले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो


फाल्गुन २, २०७४

काठमाडौँ — एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ ।

बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीकाे उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो।

एमाले स्थायी कमिटी बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकताबारे पनि छलफल भएको उनले बताए। उनले दुवै पार्टीका आन्तरिक छलफलपछि बुधबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिए। स‌ंयोजन समितिको बैठक अघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुनेछ।

बैठकमा अध्यक्ष ‌ओलीले पार्टी एकताबारे भइरहेको छलफल प्रगति उन्मुख गरेको ब्रिफिङ गरेका थिए। पार्टी एकतापछि 'संयुक्त नेतृत्व प्रणाली' मा जाने करिब सहमति नजिक एमाले-माओवादी पुगेका छन्। अध्यक्ष वा सहअध्यक्ष कुन प्रणाली अपनाउने भन्ने विषय बुधबार बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाइनेछ।

एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो। नेता पाण्डेका अनुसार दुवै दलले गरेको आन्तरिक गृहकार्यको निष्कर्ष एकता संयोजन समिति बैठकमा राख्ने र आजै एमाले–माओवादी केन्द्रबीचको एकताको स्वरुपबारे अन्तिम निर्णय गर्ने सम्भावना छ।

, , , , ,